भूतपूर्व इराकी नेता सद्दाम हुसैनलाई मृत्युदण्ड
भूतपूर्व इराकी नेता सद्दाम हुसैनलाई मृत्युदण्ड
इराकका प्रधानमन्त्री नुरी अल मलिकीले सद्दाम हुसेनलाई फांसी दिइएपछि इराकी इतिहासको कालो अध्यायको अन्त्य भएको छ भनेका छन्।
इराकी सरकारी टेलिभिजनले भूतपूर्व राष्ट्रपति सद्दाम हुसेनको शवको तस्वीरहरू प्रसारण गरेको थियो।
टेलिभिजनले शिया मुसलमानहरू सडकमा निस्केर खुशियाली मनाउँदै नाचगान गरेको तस्वीरहरू प्रशारण गरेको थियो।
फांसीको समाचारलाई देशको शिया समुदायले खुशीयालीका साथ स्वागत गरेका थिए भने सद्दाम हुसेनको सुन्नी समुदायका मानिसहरूले भने त्यसप्रति विरोध जनाएका थिए।
सद्दाम हुसैनलाई फाँसी दिइएको केहीबेर पछि इराकका बिभिन्न ठाउँहरूमा भएको बम आक्रमणमा कम्तिमा ४६ जना मारिएका छन्।
दक्षिणी इराकमा खासगरी शियाहरूको बस्ती रहेको ठाउँ कुफास्थित एक बजारमा कारबम विष्फोट हुँदा ३१ जन मारिएका थिए भने राजधानी बगदादमा भएका विष्फोटहरूमा थप १५ जनाको ज्यान गएको थियो।
यसैबीच हाल जोर्डनमा निर्वासनमा रहेका सद्दाम हुसैनका दुईजना छोरीहरूले उक्त मृत्युदण्डको समाचार प्रकाशमा आएपछि त्यसप्रति संयमपूर्ण शोक व्यक्त गरेका उनीहरूका साथमा रहेका मानिसहरूले बताएका छन्।
ति महिलाहरूले, तिनका बाबुले आफुलाई मृत्युदण्ड दिनेहरूको सहासपूर्वक सामना गर्दा आफुले गौरव महसुश गरेको बताएको जनाइएको छ।
मध्यपूर्व
मध्यपूर्वमा धेरैजसो सद्दाम हुसेनलाई प्यालेष्टिनी चासोको कडा समर्थकका रूपमा हेर्ने गर्छन्।
उनको मृत्युमा लिवियाले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ।
तर सो क्षेत्रका अन्य धेरैजसो सरकारहरू हालसम्म मौन रहेका छन्।
इजिप्ट देखि साउदी अरेबिया र जोर्डनसम्म अब सद्दाम हुसेनलाई फांसी दिइएपछि इराकको स्थिरता झनै खलबलिने चिन्ता व्यक्त गरिंदै छ।
अन्यत्र यस घटनाप्रति मिश्रीत प्रतिक्रिया व्यक्त भैरहेको छ।
अन्तर्राष्ट्रिय प्रतिक्रिया
राष्ट्रपति बुशले सो घटनालाई इराकको लागि एउटा महत्वपूर्ण कोशेढुंगो भनेका छन्।
हाल टेक्सस स्थित आफ्नो र्यान्चमा रहेका बुशले सार्वजनिक टिप्पणी नगरेपनि एउटा लिखित बक्तव्यमा सद्दाम हुसेनलाई मृत्युदण्ड दिने निर्णयलाई बुश प्रशासनले दह्रो समर्थन जनाएको स्पष्ट गरिएको छ।
बृटिश विदेशमन्त्री मार्गरेट बेकेटले बृटेनले मृत्युदण्डलाई समर्थन नगर्ने भएपनि सद्दाम हुसैनलाई उनको अपराधका निम्ती कानूनी कार्वाही गरिएको ठहर गर्दै एउटा सार्वभौम राष्ट्रको निर्णयलाई आफ्नो देशले सम्मान गर्ने बताइन्।
तर रूसले मृत्युदण्ड नदिन इराकीहरूले गरेका अनेकौं अपीलहरूलाई वेवास्ता गरिएकोमा आफु दु:खी भएको जनाएको छ भने प्यालेष्टिनी समूह हमासले उक्त फांसीलाई राजनीतिक हत्या भनेको छ।
भ्याटिकनले त्यसलाई एउटा वियोगान्त घटना भनेको छ।
यसैगरी भारतको विदेश मन्त्रालयले फांसीको सजाय कार्यान्वयन गरिएकोमा आफू निरास भएको भएको छ।
http://www.bbc.co.uk/nepali/news/story/2006/12/printable/061230_saddamexecution.shtml
0 Comments:
Post a Comment
<< Home