Sunday, December 31, 2006

मृत्यदण्ड दिनु हुंदैन: प्रधानमन्त्री कोइराला

मृत्यदण्ड दिनु हुंदैन: प्रधानमन्त्री कोइराला

सद्दाम हुसेनलाई दिइएको फांसीको सजायंप्रति प्रतिक्रिया जनाउंदै नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मृत्युदण्डको सजायं विकसित सभ्यताको खिलाफमा भएको बताएका छन्।

विराटनगरमा बीबीसी नेपाली सेवासंग कुरा गर्दै उनले भने- "सद्दाम हुसेन मात्र होइन कसैलाई पनि मृत्युदण्ड दिने कुरा मलाई ठिक जस्तो लाग्दैन।फांसीको सजायं दिने कानूनलाई विश्वबाट नै अन्त्य गर्नुपर्छ।"

कोइरालाले नेपाल मृत्युदण्डको विरोधमा रहेको स्पष्ट पार्दै विराटनगरमा बीबीसी नेपाली सेवासंग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले आणविक बमको अन्त्य हुनुपर्ने बताए।

विरोध

इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेनलाई दिइएको फांसीको सजायंका विरूद्ध देशभर नै विरोध प्रदर्शनहरू भएका छन्।

परम्परागत ढंगमा गरिएका त्यस्ता विरोध कार्यक्रमहरूको अगुवाई सानाठूला बामपन्थी दलहरू र तिनका कार्यकर्ताहरूले गरेका थिए।

सत्ताधारी नेकपा एमाले र जनमोर्चा नेपालका साथै नेकपा माओवादी र अन्य वाम घटकहरूले घटनाको विरोध गर्दा आक्रोशको मुख्य निशाना भने अमेरिकी राष्ट्रपति बुशलाई बनाएका थिए।

काठमाण्डौंको रत्नपार्कमा बुशको पुतला जलाउंदै विरोध जनाएको सत्ताधारी जनामोर्चा नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियु (एकिकृत) का अध्यक्ष प्रकाश पोखरेलले भने- "आजको विरोध कार्यक्रम अमेरिकी साम्राज्यवाद र उस्को कठपुतली इराकी सरकारले सद्दाम हुसेनलाई दिएको मृत्युदण्ड, प्रजातन्त्र र मानवअधिकारको दुहाइ दिने अमेरिकी साम्राज्यवादको विरोधमा गरेका हौं।"

काठमाण्डौंस्थित बीबीसी नेपाली सेवाका एकजना सम्वाददाता भन्छन्- आफूलाई साम्राज्यवाद विरोधी बताउने नेपालका वामपन्थी दलहरूले अमेरिकालाई साम्राज्यवादको नेतृत्वकर्ता ठान्ने गर्छन्।

त्यसैले इराक जस्तै विगतमा अफगानिस्तान होस् वा उत्तर कोरियामा अमेरिकी हस्तक्षेप हुंदा यहांका वामपन्थी पार्टीहरूले तुरून्तै विरोध प्रकट गरेका थिए।

यस परिप्रेक्ष्यमा उनीहरूको पछिल्लो प्रतिक्रियालाई अस्वाभाविक ठानिएको छैन।

तर विश्व चर्चा पाएको इराकको पछिल्लो घटनाले करिब साढे दुइबर्ष त्यहां १२ जना नेपाली कामदारहरूको हत्या भएको प्रसंग पनि नेपालीहरूलाई सम्झना गराइदिएको छ।

अहिले पनि इराकमा थुप्रै नेपालीहरू आफ्नो जीवन अत्यन्तै जोखिममा पारेर काम गरिरहेका बताइन्छ।
http://www.bbc.co.uk/nepali/news/story/2006/12/printable/061230_nepal_protests.shtml

0 Comments:

Post a Comment

<< Home